सङ्कट सबैका लागि सङ्कट बन्दैन । कुनै क्षेत्रका लागि अवसर पनि बन्छ । कोरोनाकाल यस्तै एक अवसर बन्यो नेपालमा अनलाइन मिडियाका लागि ।कोरोना भाइरसको कहरमा लकडाउन सुरु भएसँगै सञ्चार माध्यममा एकछत्र राज गरेको छापा माध्ययमको पाठक खुम्चिए । कतिले प्रकाशनै बन्द गर्न पुगे। जसले निरन्तरता दिए उनीहरू पनि ‘पत्रिका निस्किएको छ है’ भन्ने सन्देश दिन मात्र केन्द्रित भए । लकडाउन खुलेर अहिले जनजिवन सामान्य बन्दै गइरहे पनि कोरोनाकालमा खस्किएको साख फर्काउन
सकेको छैन छापा माध्ययमले । लाखको दरमा छापिने पत्रिका हजारमै समेटिएका छन्। पाठकको घरमा पुग्नेक्रम घटेको छ । अनलाइन सञ्चारमाध्यमका लागि यो सङ्कटको समय आफ्नो साख र विश्वसनियता स्थापित गर्ने मौका बनेर आयो। पत्रिका नपढी विहानी सुरु नहुने पाठक मन नलागी नलागी डिजिटल स्क्रिनमा समाचार स्क्रोल गर्न बाध्य
भए । यो एक वर्षको सङ्कटमा पत्रिका नपढे पनि विहानी हुन थालेको छ उनीहरूका लागि शौख मानिने डिजिटल पत्रकारिता मुलधारको बन्यो । हिजो छापामा रमाउने पाठक अहिले स्क्रिनमा समाचार पढ्न अभ्यस्त भइसकेका छन् र डिजिटल पत्रकारिता मुलधारको रूपमा अगाडि बढिरहेको प्रमाण छापाका पत्रकारिताका जनशक्ति स्थीरहदा अनलाइनमा बढिरहेको चहलपहल पनि हो ।
२५ वर्षमै फर्किएको खोला
सुधा सागर प्रकाशन भएको वर्षलाई नेपाली पत्रकारिताको प्रारम्भ भएको वर्ष मान्ने हो भने नेपालमा पत्रकारिता सुरु भएको एक सय २२ पुग्यो । वि.सं. १९५५ मा सुधा सागर सुरु भएको थियो ।गोरखापत्र सुरु भएको वर्षलाई पत्रकारिताको प्रारम्भ वर्ष मान्ने हो भने पनि एक सय १९ वर्ष त पुग्यो सुधा सागर’ सुरु भएको तीन वर्षपछि गोरखापत्रको प्रकाशन प्रारम्भ भएको थियो । छापा पत्रकारिताको इतिहासको तुलनामा अनलाइन पत्रकारिताको उमेर सानो हुनु स्वभाविकै हो । अमेरिकाको सिकागो ट्रिब्युन अनलाइनमा गएको वर्ष सन् १९९२ लाई नै अनलाइन पत्रकारिताको प्रारम्भ वर्ष भनेर मानिन्छ । त्यस आधारमा यसको आयु हेर्दा २९ वर्षको भयो । नेपाली अनलाइनको इतिहास पल्टाउने हो भने अमेरिकामा सुरु भएको ‘द नेपाल डाइजेष्टलाई मान्न सकिन्छ जुन २९ वर्ष अगाडि नै सुरु भएको थियो। नेपालमै अनलाइन पत्रकारिता सुरु भएको वर्ष भने सन् १९९६ हो ।
मर्कन्टायल कम्युनिकेसन्सले सन् १९९६मा साउथ एसिया डटकम डोमेन सुरु गर्यो काठमाडौं पोस्ट, राइजिङ नेपाल लगायतका छापालाई डिजिटल बनाएर राख्न थाल्यो। सन् १९९९ मा मर्कन्टायलले नेपाल न्युज डटकम नाममा आफ्नै अनलाइन समाचार पोर्टल सुरु गर्यो । सन् १९९६ लाई नेपालमा अनलाइन पत्रकारिताको प्रारम्भ वर्ष मान्दा यो भर्खर युवा उमेरमा प्रवेश गरेको देखिन्छ । तर युवा उमेरमा प्रवेश गर्दा नै यसले छापाको एकछत्र राजको अन्त्य गर्दै खोलो फर्काउन सफल भयो । बढ्दो सङ्ख्या, घट्दो विश्वसनियता २०७७ साउनसम्म नेपाल प्रेस काउन्सिलमा दर्ता भएका अनलाइन सञ्चार माध्यमको सङ्ख्या २ हजार १ सय ९९ पुगिसक्यो । साउन यता पनि टन्नै नयाँ अनलाइन पोर्टलहरू सुरु भएका छन्। यसले सो सङ्ख्या २२ सय पारी पुगिसकेको देखिन्छ र नयाँ थपिनेक्रम जारी छ । जसरी अनलाइन न्युज पोर्टलहरूको सङ्ख्या बढिरहेको छ चुनौती पनि उत्तिकै चुलिँदो छ । समाचार भनेको के हो भन्ने सामान्य जानकारी समेत नभएको, सजिलो पो रैछ भनेर लहडमा खोल्नेको सङ्ख्या बढ्दो छ । कुनै समय सामुदायिक रेडियोमा सल्किएको पार्टीगत पत्रकारिता अनलाइन पत्रकारितामा समेत प्रवेश पाइसक्यो । पार्टीगत मात्रै हैन पार्टीको एक गुटको स्वार्थ पूरा गर्न अनलाइन न्युज पोर्टल खोल्ने क्रमसमेत बढेको छ । यसले पाठक वर्गमा ‘यो अनलाइन भनेको त के हो के’ भन्ने छाप परेको छ । जसले व्यवसायिक रूपमा
पत्रकारिताको संहिता भित्र बसेर पत्रकारिताको यात्रा गरिरहेकाहरूको चुनौती बढाएको छ । पत्रकारिता आर्थिक पाटोसँग जोडिन्छ नै । सञ्चार माध्यम बाँच्ने विज्ञापनबाट नै हो । कोरोनाले बढाएको आर्थिक सङ्कटको प्रभाव मिडिया क्षेत्रमा पर्ने नै भयो । यसले रेभिन्युको अस्वस्थ प्रतिष्पर्धा बढ्दा सञ्चार माध्यमको आलोचनात्मक चेत विलय हुने जोखिमसमेत बढेको छ । अनलाइनमा समेत यसको प्रभाव देखिइसक्यो । स्तुतीमय सामाग्रि त्यसैको प्रभाव हो । यसले पाठकमा समेत अनलाइन पत्रकारिता प्रति नकारात्मक छवी बस्दै गएको छ । समय अनुसार यो शुद्धीकरणमा जाने पक्का छ । तर यो सङ्कटको अवस्थामा आर्थिक स्रोतको दवाव थेग्न पत्रकारिताको संहिताभित्र बसेर पाठकको विश्वास कमाइरहेका अनलाइन सञ्चार माध्यमले पनि बाटो विराए डिजिटल पत्रकारिताको साख दाउँमा पर्ने पक्का छ ।
सञ्जालको बढ्दो प्रभाव
अनलाइन सञ्चार माध्यम के हो ? ब्लग र अनलाइन सञ्चार माध्यम एकै हो ? युट्युव च्यानल र अनलाइन टेलिभिजनमा के भिन्नता छ ? फेसबुक अनि टुइटर जस्ता सामाजिक सञ्जाल अनलाइन सञ्चार माध्यम हो हैन ? माथिका प्रश्नमा पाठक मात्रै हैनन्, नीति निर्माता पनि अन्यौलमा छन् अहिले । यो अन्यौलको कारण हो सामाजिक सञ्जाल र सञ्चारमाध्यमको घट्दो दुरी। पाठकसम्म पुग्न नेपालका अनलाइन सञ्चारमाध्यमहरू फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालमा बढी नै निर्भर छन् । अधिकांश अनलाइन पत्रिकाको पाठकसम्म पुग्ने मुख्य माध्ययम यस्तै सामाजिक सञ्जाल बन्दा फेसबुक नै मुख्य सञ्चारमाध्यम हो झै भान परिरहेको छ पाठकमा । आज सेतोपाटी, अनलाइन खवर या उकेरामा प्रकाशित समाचारभन्दा पनि फेसबुकमा आएको समाचारको पहिचान बढ्दो छ । पाठकले कुन सञ्चार माध्यममा समाचार पढेको बिर्सन थालेका छन् । उनीहरूका लागि एक पहिचान फेसबुक लगायतका सञ्जाल बन्दैछन् । पाठक-दर्शक र स्रोतासम्म पुग्न सामाजिक सञ्जाल र हाम्रो पात्रो, नेपाली पात्रोजस्ता एग्रिगेटर एप्सहरूमा अनलाइन सञ्चार माध्यम बढी नै निर्भरहुँदा भोलि उनीहरूको इच्छा अनुसारका सामाग्री मात्रै पाठकसम्म पुग्न पाउने जोखिम बढाएको छ ।
यसले सञ्चार माध्यमको पहिचान सङ्कटमा परेको छ नै सामाजिक सञ्जालमा जसको पनि पहुँच पुग्ने र व्यक्तिगत रूपमा मन लागेको लेख्न सकिने सुविधाको कारण अनलाइन सञ्जालमा लेखेको विषय पनि अनलाइन सञ्चार माध्यमले नै लेखेको हो भन्ने भान परिरहेको छ पाठकमा यसले समेत अनलाइन सञ्चार माध्यमको विश्वसनियतामा सङ्कट बढाइरहेको छ ।
खै नीति ?
अनलाइन सञ्चार माध्यम मुलधारको रूपमा स्थापित भइसकेको छ । ओई डटकम भनेर जति जिस्काए भने यो सत्य हो अब इन्टरनेटको जन्म भएझैँ अर्को कुनै शक्तिशाली प्रविधि या माध्यमको जन्म नभएसम्म अनलाइन पत्रकारिताको प्रभाव घट्ने छैन । तर जुन रूपमा अनलाइन सञ्चार माध्यमको विस्तार र विकास भइरहेको छ सोही रूपमा नीति निर्माण तह सक्रिय नहुँदा अझै यो क्षेत्रबारे अन्यौल र अस्पष्टता बढ्दो छ । कुन पत्रिका कुन स्तरको भन्ने प्रष्ट मापदण्ड छ । कुन सञ्चारमाध्यम हो कुन भित्ते पत्रिका हो भन्ने कानुनले छुट्टयाएको छ। तर अनलाइनको हकमा प्रष्ट नीति नहुँदा अन्यौल बढाइरहेको छ । अनलाइन सञ्चार माध्यमसम्बन्धी निर्देशिका बनाएर सरकारले यसको प्रयास गरे पनि सञ्चार माध्यमको नियमन सुशासन ऐन अन्र्तगत राखेकाले टेकेको धरातल नै गलत छ । गलत भुइँमा टेक्दा सही परिणाम आउन सक्दैन । हाम्रा कानुनहरू प्रविधि मैत्री बन्न सकेका छैनन् । नियमन या बर्गीकरण अनलाइन सञ्चार माध्यमको हकमा निक्कै जटिल प्रक्रिया हो । तर नियन्त्रणमुखी नबनी सरकारले सहजीकरणको मनसायले अगाडि बढ्ने हो भने यसलाई छापा र प्रसारण माध्यमझै व्यवस्थित बने बनाउन सक्छ ।