धेरैलाई फोटोग्राफी र फोटो पत्रकारिताबीचको भिन्नता थाहा छैन । र यही नै अहिले हाम्रो पेशाको प्रमुख चुनौतीको रूपमा रहेको छ । फोटोग्राफरले राम्रो तस्वीर खोज्छ र फोटोपत्रकारले कथा भन्न सक्ने राम्रो तस्वीर खोज्छ । निश्चय नै हाम्रो देशमा राम्रो कथा पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मै भेट्न सकिन्छ । रीतिथिती, रहनसहन, विकास निर्माणका काम, ढिलासुस्तीको नमुना आदि इत्यादि विषय साँच्चै भन्ने हो भने काठमाडौँभन्दा धेरै मोफसलमै भेटिन्छ । यसको सोझो अर्थ हो- फोटो पत्रकारिताको अवसर मोफसलमा धेरै छ ।
अवसर हुनु र नहुनुमात्र पनि ठूलो कुरा भएन । अवसरलाई कत्तिको पकड गर्न सकिन्छ, त्यसैले हरेक कुराको निर्धारण गर्छ । जस्तो सानो उदाहरण नै लिऔं- मोफसलमा ‘डेडीकेटेड’ फोटो पत्रकार भेट्नै धौधौ पर्छ । काठमाडौं बाहिर त पत्रकार नै फोटो पत्रकार हुन् भन्दा फरक पर्दैन । फोटोको ‘एइस्थेटिक भ्यालू’ नै नजानी फोटो पत्रकारिता
भइरहेको छ । अर्को समस्या लगानीमा पनि छ । एउटा आम मानिस अहिलेको समयमा फोटो पत्रकारिता गर्न चाहन्छ भने कम्तीमा ३ लाख बराबरको लगानी आवश्यक पर्छ । तर काठमाडौं बाहेकको जिल्लाको सन्दर्भमा भने यो लगानी जुटाउन पनि मुस्किल पर्ने अवस्था छ । त्यसैले पनि फोटो पत्रकारिताको गुणात्मक विकासमा सोचेअनुरूप प्रगति भइरहेको छैन । अर्को एउटा समस्याचाहिँ अहिले फोटो पत्रकारिता ‘ग्लोबल’ समस्याको रूपमा उदाएको छ । फोटो पत्रकारहरू धेरै ‘रिजल्ट ओरिएन्टेड’ भएका छन् । तर यो यस्तो पेशा हो जहाँ घण्टौं कुर्दा पनि सोचेजस्तो फोटो पाइँदैन ।
अनि जे भेट्यो त्यही खिच्यो गर्ने प्रवृत्तीले समग्र फोटो पत्रकारिता नै बदनाम भइरहेको छ । यो समस्या नेपालमा हालैको दिनमा झन् बढ्दै गएको छ । जसरी ‘नोज फर न्यूज’ एउटा पत्रकारलाई नभई नहुने गुण हो त्यसैगरी ‘आइ फर फोटो’ पनि एउटा फोटो पत्रकारलाई नभई नहुने गुण हो । तर यही कुराको अभाव हाम्रा नयाँ पुस्ताका धेरै फोटो पत्रकारमा देखिन्छ । यो अध्ययनको कमीले पनि हो । क्यामेरा चलाउन जानेपछि फोटो पत्रकार भइहालिन्छ भन्ने सोचले पनि हो । न्यूजले कुन तस्वीर खोजेको हो त्यो पत्ता लगाउन सक्ने खुवी काठमाडौँ र मोफसल दुबैतिरका फोटो पत्रकारले बढाउन जरुरी छ ।
युट्युव जस्ता ‘ओपन लर्निङ साइट’ले पनि फोटो पत्रकारको करियरमा धेरै सघाउ पुर्याउन सक्छ । तर यसको लागि अङ्ग्रेजी पनि जान्न जरुरी छ । संसारको सबैभन्दा धेरै ज्ञानको भण्डार नै अङ्ग्रेजी भाषामा छ । त्यसैले पनि एउटा फोटो पत्रकारका लागि अङ्ग्रेजी नजानी नहुने भाषा हो । अन्त्यमा, फोटो पत्रकारिता भनेको मेहेनत, धैर्यता र लगनशिलताको परिणाम हो ।
फोटो पत्रकारिताबारे केही कुरा
फोटो पत्रकारिताबारे केही कुरा

तपाईको प्रतिक्रिया