पाँचथर — राजावादीको आन्दोलनमा पत्रकारको हत्या गरिएको भन्दै पाँचथरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखामार्फत विरोध कार्यक्रम आयोजना गर्दै जिल्लामा क्रियाशील पत्रकारहरुले कार्यस्थलमा पत्रकारलाई जिउँदै जलाइएको घटनाको भर्त्सना गरेका हुन् ।
फिदिमस्थित गणतन्त्र चोकमा भेला भएका पत्रकारहरुले पूर्वराजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको आत्मा शान्तिको कामना गर्दै घटनाको न्यायिक छानबिन गरेर हत्यामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन माग गरे ।कार्यक्रममा बोल्दै वक्ताहरुले पत्रकार सुरक्षाका लागि राज्य जिम्मेवार बन्न नसक्दा पटक-पटक घटना दोहोरिँदै आएको टिप्पणी गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्षा भीमकुमार बाँस्कोटा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य गणेश साम्पाङ, प्रेस चौतारी पाँचथरका अध्यक्ष मदन थापा, प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइँटेल र महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मी गौतमले सम्बोधन गरेका थिए । उनीहरुले आन्दोलनका नाममा कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट लगायतका सञ्चारगृहमा भएको आक्रमणको समेत भर्त्सना गरेका थिए ।
