झट्ट सुन्दा सामान्य लाग्ने तीनवटा अद्भूत नेपाली शव्द छन्- ‘बेलैमा सत्य बोल’ । सच्चा पत्रकारले नित्य जप्ने र साधना गर्ने पवित्र गुरु मन्त्र यही नै हो । यो गुरुमन्त्र असल सञ्चार वा पत्रकारिताको सम्पूणर् आत्मा हो । पत्रकारिताका सारा दर्शन, सिद्धान्त र मान्यताहरू यसैमा अन्तर निहित छन् ।तर यसको ठीक विपरित मूल प्रवाह मानिएको विश्व पत्रकारिताका आचरण र अभ्यासहरूलाई भने राजनीतिकतथा कुलिन धङधङीले नराम्ररी गिजोलेको छ । राजनीतिक तथा कुलिन धङधङीले गिजोलेको विद्यमान पत्रकारिताकास्थायी निचोड हुन- “ठूलठूला घटना, नयाँ नयाँ विषय, उच्च औकात तथा ओहदा धारी मान्छेका गतिविधि,अनैतिक काण्ड तथा दुस्साहास र औपचारिक भाषा मात्र प्रसारण वा प्रकाशनका विषय बन्दछन् ।” नेपालमा पनि मूल प्रवाह भनिएको पत्रकारिताको दिशा र यस्तै छ । हामीले बिर्सन नहुने यथार्थ के हो भने पशु सम्पर्कको प्राणी हो तर मान्छे चाहिँ सम्बन्धको प्राणी हो । तसर्थमान्छे सदियौंदेखि आफ्नो नालीवेली एक अर्कालाई कहन्छ, आफ्ना आवश्यकता, चाहना र कथा व्याथा अरुलाई
सुनाउँछ र अरुका आवश्यकता, चाहना र कथा व्याथा आफू सुन्छ । अर्थात मान्छे आफ्नो सामाजिक साँस्कृतिक सन्दर्भ अनुसार प्रत्येक क्षण र हरेक क्रियाकलापका कहानी एक आपसमा सुनाउँछन् । कथा कहानी भन्ने र सुन्ने यही सनातनी परम्परा नै मानव सञ्चार हो । प्रभावकारी सञ्चारमा सदा आशा र स्नेह लुकेको हुन्छ । उपाय, भरोसा
र सहयोग सन्निहित हुन्छ ।
अति सामान्य प्रसङ्गबाट कुरा अघि बढाऊँ । राजनीतिक र कुलिन धङधङीको पत्रकारिताले ठाने झैं ठूला घटना, नयाँ कुरा, शक्तिशाली मान्छेका गतिविधि, अनैतिक काण्डहरूमात्रै सुन्न र सुनाउन लायक हुन्थे भने लोग्ने-स्वास्नीबिच बिहे गरेको दुई-तीन महिनापछि गफगाफ बन्द हुनुपर्ने थियो । आमा- छोराछोरीबिच कुराकानी नै
हुने थिएन । तर त्यस्तो कहिल्यै भएको छैन । प्रत्येक लोग्ने-स्वास्नी हरेक पटक भेट हुँदा वर्षौं टाढिएका आफन्त भेट भएझैं कुरा सुरु गर्छन् । केही बेरलाई कतै जाँदाफोन गरेर भए पनि सम्पर्क गर्नु आवश्यक ठान्छन् । के उनीहरूसँग गफ गर्नलाई नयाँ विषय वा ठूला घटना हुन्छन् त ? पक्कै पनि हुँदैनन् । उनीहरूको कुराकानीको अर्थ हो- उपस्थिति जाहेर गर्नु । यसले जो जहाँ भए पनि सधैँ सँगै छौँ भन्ने सन्देश दिन्छ । एक अर्कालाई सुरक्षित महसुस गराउँछ, आत्मवल थप्छ । परिवार निर्माण गर्छ । स्थानीय रेडियोको काम यही विन्दुबाट थालनी हुनु पर्दथ्यो । दिगभ्रमित मुलप्रवाहको पत्रकारिताबाट वाक्कदिक्क भएर शास्वत मानव सञ्चारलाई साकार पार्ने दिव्य उद्देश्यसहित स्थानीय प्रसारण माध्यमहरू नेपालमा दुई दशक अघि सुरु भए । यहाँ तिनै स्थानीय रेडियोहरूले के गर्नु पथ्र्यो र के भए भनी छोटो समीक्षा गरौं । वास्तवमै स्थानीय रेडियोहरू जीवन निर्वाहका आधारभूत पूर्वाधार र स्रोतहरूको अभावमा बाँचेका समुदायका लागि सजिलो, व्यवहारिक र धान्न सकिने सञ्चार माध्यम हुन् । समुदायभित्र निकटता हुन्छ, मित्रता हुन्छ र लगाव हुन्छ । समान भौगोलिक, साँस्कृतिक तथा प्राकृतिक अवस्थाले उनीहरूका आवश्यकता तथा भावना साझा हुन्छन् । एक अर्काका पीडामा दुखी हुने र सफलतामा रमाउने उनीहरूको स्वभाव हुन्छ, समूहमा मिलेर काम गर्न उनीहरू बानी परेका हुन्छन् । यस खाले भावना, स्वभाव तथा बानीलाई बढाएर स्थानीय रेडियोले आफ्नो प्रसारण क्षेत्रभरिका बासिन्दालाई एउटा ठूलो परिवारमा परिणत गर्न सक्नु पर्दछ । उनीहरू बिच मानवीय सम्पर्क स्थापित गर्न सक्नु पर्दछ । यस्तो सम्पर्क र आदान-प्रदानले परस्पर विश्वास र सामाजिक सहमती कायम गराउँछ, सामाजिक सुरक्षा सुनिश्चित गर्छ । समुदायमा कायम यस्तो वातावरण वास्तवमै साँस्कृतिक सम्पत्ति हो जसबाट समाजले चाहेको, अत्यावश्यक, गरिमामय र अनुकरणीय विकासको थालनी गर्न सक्छ ।
स्थानीय रेडियोहरूसँग परिवर्तनको सम्भावना र चुनौती दुवै हुन्छ । आफ्नो समुदायको विकासका लागि नयाँ सम्भावना, अझ नयाँ पुस्ताका लागि वृहत् भविष्यको खोजी गर्न सक्नु स्थानीय रेडियोहरूको अहम कर्तव्य हो । परिवर्तन व्यक्ति र समाजका लागि सधैं चुनौतीपूणर् हुन्छ । परिवर्तित वातावरणमा जीवन रक्षाका विद्यमान
परिभाषाहरू मेल नखान सक्छन् । सामाजिक सुरक्षाको निर्धारित परिभाषा बदलिन सक्छ । यसखाले भिन्न परि स्थितिले समाजमा अनिश्चय र अन्यौल पैदा गर्न सक्छ । जसले गर्दा समुदायका बासिन्दाहरू यथास्थितिकै पक्षमा रहन सक्छन् । परिवर्तन हुन नदिन खुलेर प्रतिरोध गर्न सक्छन् । यस्तो अवस्थामा स्थानीय प्रसारणले परिवर्तित
अवस्थाको सामाजिक सुरक्षाको अवधारणालाई क्रमशः परिभाषित गर्दै समुदायलाई विश्वास दिलाउन सक्नुपर्छ, समुदायका बासिन्दालाई प्रगतितर्फ प्रेरित गर्नुपर्छ । स्थानीय बासिन्दाको आत्म सम्मानको खोजी गर्नु स्थानीय रेडियोको अर्को महŒवपूणर् कार्य हो । आत्मसम्मानका लागि स्थानीय बासिन्दालाई मौलिक परिचय चाहिएको हुन्छ । जुन कुरा संस्कृतिको संरक्षणबाट मात्र सम्भव छ । समुदायको स्मृतिमा खोज्नुपर्ने अवस्थामा पुग्न लागेका थुप्रै स्थानीय साँस्कृतिक सम्पदाहरूलाई पुनर्जीवन दिन स्थानीय रेडियोहरू क्रियाशील रहनु पर्छ । स्थानीय प्रसारण वास्तवमै जनसहभागिता र सार्वजनिक अभियानहरूलाई संयोजन गर्न सक्ने प्रभावकारी माध्यम हुन् । प्रसारण केवल प्राविधिक विषय होइन, यसमा हाम्रा सामाजिक र नैतिक आचरणहरू पूणर् रूपमा सम्लग्न हुन्छन् । तसर्थ प्रसारणमा स्थानीय र सामुदायिक आत्मालाई मारेर तथा कथित लोकप्रिय र आयातित संस्कृतिको पछाडि दौडिनु हुँदैन । प्रसारणमा समग्र मानवीय प्याकेज तयार पार्न सक्नुपर्छ । समुदायका बासिन्दालाई दैनिक जीवनमा अवस्था हेरी अलिकति ज्ञानगुन, अलिकति सूचना र समाचार, अलिकति जानकारी, अलिकति सीप, अलिकति हौसला तथा उत्साह र अलिकति मनोरञ्जन चाहिएको हुन्छ । यी सबै खाले आवश्यकतालाई बुझेर कार्यक्रम उत्पादन तथा प्रसारण गर्न सक्यो भने मात्र समुदायमा प्रसारण मार्फत आनन्द प्रदान गर्न सकिन्छ । प्रसारणले जन जीवनलाई सघाउन सक्छ ।
रेडियो आफैंमा कथ्य माध्यम हो । जब हामी बोल्छौं शब्दहरू झरिला र भरभराउँदा हुन्छन् । बोलीचालीको भाषामा प्रत्यक्ष वाक्य प्रयोग हुन्छन् र प्रत्यक्ष वाक्यहरूमा मान्छेलाई आकर्षित तथा प्रभावित पार्ने विशेष प्रकारको तागत हुन्छ । भनाइ नै छ- ‘समाज परिवर्तन लेखकले होइन वक्ताले गर्ने गर्छन्’ । रेडियो वक्ता माध्यम हो र यससँग
समाज परिवर्तनको असाधारण शक्ति छ । समाज परिवर्तनको यस शक्तिलाई समाज उपयोगी बनाउन रेडियोमा सर्वसाधारणको सहज पहुँच, विविधता र सहभागितालाई प्रत्याभूत गर्न सक्नुपर्छ । समुदायबिच संवाद कायम गर्न सक्नुपर्छ । समुदायको पहुँच, सहभागिता र सामुदायिक संवाद त्यस बेला मात्र सहज र व्यापक हुन्छ जुनबेला संवादको विधिका रूपमा समुदायका मानिसहरू अभ्यस्त सञ्चार परम्परा अबलम्बन गर्छन् । कथ्य परम्परामा आधारित हाम्रो समाजमा सुन्ने र सुनाउने विभिन्न
ढाँचा र शैलीहरू छन् । तिनलाई रेडियोहरूले चिनेर प्रसारणमा प्रयोग गर्न जान्नुपर्छ । हाम्रो पूर्वीय समाज लामो समयसम्म कथ्य परम्परामा आधारित समाज हो । हाम्रा वेद तथा नीतिशास्त्रहरू शताव्दीऔंसम्म एक पुस्ताबाट अर्को पुस्तामा कथ्य परम्परामा आधारित भएर हस्तान्तरण हुँदै आए । अझ नेपाल भाषिक तथा साँस्कृतिक विविधताको धनी देश पनि हो । पुगनपुग तीन करोड जनसङ्ख्या भएको देशमा एक सय २० वटा भन्दा बढी भाषा बोलिन्छन् । यहाँ अझै पनि थुप्रै जातजातिका संस्कार विधिहरू लिखितम छैनन्, बकितममा छन् । रेडियो बकितम-माध्यम भएकाले यसले पश्चिमा मुलुकहरूले निर्धारण गरेका प्रसारण कार्यक्रमका ढाँचा तथा स्वरूपलाई मात्र अनुशरण नगरी हाम्रो कथ्य समाजले पुस्तौं पुस्तादेखि अभ्यासमा ल्याएका थुप्रै सञ्चार पद्धति र कथ्य ढाँचाहरूलाई सजगतापूर्वक प्रयोगमा ल्याएर प्रसारणलाई सम्बृद्ध बनाउने अवसर पनि स्थानीय प्रसारकहरूमा निहित छ ।
समुदायले सदियौंदेखि अपनाएको सञ्चारका पद्धति र ढाँचाहरू हामीले स्थानीय प्रसारणमा अवलम्बन गर्न सक्यौं भने भुइँमान्छे (आम मानिस) का कुरा मज्जाले सार्वजनिक हुन्छन् । जब भुइँमान्छेका कुरा सुनिन्छ, तब उनीहरूको मनोवल बढ्छ अनि उनीहरूका अनुभव र दृष्टिकोणहरू समाजकालागि लाभदायक हुन्छन् । विकास, वातावरण र द्वन्द्व रूपान्तरण जस्ता विषयका बहसहरूमा स्थानीय समुदाय अझ विशेष गरी कमजोर वर्ग र गरिब समुदायका अावाजहरू खासै सुनिँदैनन्, किनभने यस्ता बहसहरू सामान्यतया लिखित दस्वावेजमा आधारित हुन्छन् र औपचारिक परिवेशमा सञ्चालित हुन्छन् । धेरैजसो अवस्थामा त बहसको भाषा पनि समुदायका मानिसले बोल्ने भाषा र शैलीभन्दा निकैफरक हुन्छ । महामारी, द्वन्द्व, विकास र वातावरण जस्ता विषयमा विज्ञ र आधिकारिक निकायहरूका विचार मात्रै सुन्ने र त्यसैका आधारमा निणर्यमा पुग्ने प्रचलन रहेको हुन्छ । अर्कोतर्फ सामाजिक पीडा र अभावहरू भनेकै राजनीतिक, साँस्कृतिक, आर्थिक र संरचनागत शक्तिले सर्वसाधारणमाथि गर्ने कार्यका नतिजा हुन् । यी शक्तिहरू सामाजिक समस्याको स्वरूप र बुझाइलाई नै आफ्नो अनुकूल बनाउन सदा क्रियाशील रहन्छन् । सरकारी अधिकारी, पढे लेखेका र समाजका शक्तिशाली व्यक्तिहरूका धारणा र आग्रहबाट तयार गरिएका प्रमाण, व्याख्या र बयान बाजीहरूले समस्याको वास्तविक चित्र प्रस्तुत गर्न सक्तैनन् । त्यसैले समस्याको मूल कारण पत्ता लगाउन पीडित तथा भुइँमान्छे/सर्वसाधारणका धारणा र दृष्टिकोण सुन्नु जरुरी हुन्छ । विविध आवाजको सहभागिता र प्रतिनिधित्व दिगो समाज विकासका लागि
अपरिहार्य कार्य मात्र नभएर नैतिक बाध्यता समेत हो । यस कार्यमा स्थानीय रेडियोको भूमिका अत्यन्त महŒवपूणर् हुन्छ । स्थानीय रेडियोको अर्को महŒवपूणर् पक्ष भनेको यसले शक्ति, जात, वर्ग, लिङ्ग, हैसियत, क्षमता, भाषा र शिक्षाको व्यवधानलाई तोडर सर्वसाधारणलाई आफ्नै शैली, भाषा र स्थानीय विशिष्ट सन्दर्भ अनुसार आफ्ना कुरा राख्ने अवसर प्रदान गर्नसक्छ । निरक्षरहरूलाई पनि शिक्षित बनाउन सक्ने माध्यम रेडियो हो । आफ्नै बारेमा विज्ञ वा बाहिरिया मानिसका दृष्टिकोणमा आधारित विचार विश्लेषण सुन्नुपर्ने टिठलाग्दो बाध्यताबाट स्थानीय बासिन्दालाई छुटकारा दिलाएर स्थानीय रेडियोले ेउनीहरूलाई आफ्ना कुरा आफैं राख्न पाउने अवसर प्रदान गर्न सक्छ ।
भुइँमान्छेका हृदयबाट निस्किएका इमानदार आवाजहरू सदा जीवन्त हुन्छन् । यी आवाजहरूको अर्थ राजनीतिक स्वतन्त्रतासँग पनि जोडिएको हुन्छ । आम मानिसलाई आफ्ना कुरा व्यक्त गर्ने वातावरण नभएको राज्य व्यवस्था अनुचित मानिन्छ । सशक्त र जल्दोबल्दो नागरिक समाजको मूल जग भनेकै समुदायका भोगाइ, अनुभव र निस्कर्षहरूको परस्पर सञ्चार हो ।
बानी नपरेको यसखाले सञ्चार वा पत्रकारितालाई बुझ्न हामीले सम्भावनाको नयाँ यात्रा थाल्नु जरुरी थियो । तर मुल प्रवाह मानिएका कुलिन धङधङीबाट ग्रसित केन्द्रीय पत्रकारिताकै वरपर खोलिएका स्थानीय रेडियोहरूमा सुरुदेखि नै त्यसैको सेप नराम्ररी लाग्यो । यसको कारण पनि अनौठो छैन । रेडियो हाम्रा लागि फिरङ्गी माध्यम
थियो । हामीलाई तिनै राजनीतिक र कुलिन धङधङीमा लपेटिएको पत्रकारिताका खेलाडीहरूले विदेशी भाषामा लेखिएका पुस्तकहरूमा आधारित भएर बडो औपचारिक वातावरणमा अप्ठ्यारो पाराले रेडियोसम्बन्धी तालिम दिए । मौका पर्दा विदेशीहरू ल्याएर उनीहरूकै भाषा र संस्कारमा रेडियोबारेको सीप सिकाउने काम भए । हामीलाई स्थानीयता र परम्परागत सामुदायिक सञ्चार पद्धतिको चेतना दिइएन । त्यसैले रेडियोलाई पराइ माध्यम र बोक्रेज्ञानका रूपमा हामीले ग्रहण गर्यौं । सञ्चारको स्थानीय आवश्यकता र स्वभावहरूलाई हामीले बुझ्नै पाएनौं र जानी नजानी स्थानीय प्रसारण पत्रकारिता गर्न भनेर सुरिएका हामी पनि उही राजनीतिक र कुलिन धङधङीमा
लपेटिएको पत्रकारिताकै पोचो सङ्गतमा जाकियौं । सङ्गत गुनाको फल भनेझैं आवाज विहिनहरूको आवाज बन्ने सम्भावना र मर्म बोकेका स्थानीय प्रसारणलाई
पनि हामीले आफ्नो फूर्ति लडाउने साधन बनायौं । तर वास्तविकता चाहिँ के हो भने प्रतिष्ठा र इज्जत हाम्रा फूर्तिमा होइन, सच्चाइमा निर्भर हुन्छ । त्यसैले तीन वटा सरल तर अद्भूत नेपाली शव्दहरू ‘बेलैमा सत्य बोल’लाई इमानदारीपूर्वक पेशागत जीवनमा आत्मसात गर्न सक्यौं भने स्थानीय रेडियो प्रभावकारी र मर्यादित बन्ने मात्र नभई
समग्र नेपाली पत्रकारिताले नै युगान्तकारी फड्को मार्ने छ ।