भ्रष्टाचार ः अर्थ र परिभाषा
सामान्य अर्थमा भ्रष्टाचार भन्नाले भ्रष्ट आचरण भन्ने बुझिन्छ । विस्तृत रूपमा भ्रष्टाचारलाई अवैध र गैरकानुनी कार्यका रूपमा बुझ्न सकिन्छ । यसको सर्वमान्य परिभाषाको अभाव छ तर विभिन्न समाजमा भ्रष्टाचारलाई विविध अर्थमा बुझ्ने गरिएको छ । भ्रष्टाचारको प्रत्यक्ष सम्बन्ध नैतिकतासँग छ । यस आधारमा समाजको सभ्यता र नैतिक
स्तरसँग पनि भ्रष्टाचारको नाता गाँस्ने गरिएको छ । विभिन्न विद्धानहरूले भ्रष्टाचारलाई विभिन्न शब्दमा परिभाषित गर्ने प्रयास गरेका छन् ः प्रसिद्ध विद्वान नाईले भ्रष्टाचारलाई अथ्र्याउने सन्दर्भमा, सार्वजनिक पदको र कर्तव्यको प्रयोग व्यक्तिगत फाइदामा लगाउनुलाई भ्रष्टाचार मानेका छन् । यस्तै अर्का विद्वान लर्ड एट्किनले अधिकारसम्पन्न व्यक्तिले भ्रष्टाचार गर्दछ, एकाधिकारप्राप्त व्यक्तिले निर्वाध रूपमा भ्रष्टाचार गर्दछ भन्दै भ्रष्टाचारको शैली, प्रकृति र प्रभावलाई एकैपटक समेट्ने प्रयास गरेका छन् ।
यसैगरी कार्ल फ्रेडरिकका अनुसार, जो सार्वजनिक कामका लागि जिम्मेवार छ, उसले सो कार्य गर्दा व्यक्तिगत फाइदाका लागि गर्दछ र सार्वजनिक काममा हानी—नोक्सानी पुर्याउँदछ भने त्यो भ्रष्टाचार हो ।
नेपाली शब्दसागरले, भ्रष्टाचारलाई विग्रेको वा खराब आचरण, दुराचरण, नैतिक पतन हुने, घुस खाने, पक्षपात गर्ने, पाएभन्दा बढेर अधिकार चलाउने आदि खराब काम, घुसखोरी, अवैध व्यवहारका रूपमा परिभाषित गरेको छ । भ्रष्टाचार नियन्त्रण, सदाचार र पारदर्शिताका पक्षमा विश्वव्यापी अभियानमा सक्रिय अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले, सार्वजनिक सम्पत्ति व्यक्तिगत वा पारिवारिक हितमा लगाउनु भ्रष्टाचार हो भनेको छ । यस्तै विश्व बैङ्कले १९९७ मा सार्वजनिक पदलाई व्यक्तिगत फाइदाका लागि वा भाइ भतिजावाद वा आफन्तवादमा प्रयोग गरिन्छ भने त्यसमा रकमको लेनदेन नभए पनि त्यो भ्रष्टाचार हुन्छ भनेर भ्रष्टाचारको मापनको प्रयत्न गरेको यहाँ उल्लेख्य छ ।
नेपालको भ्रष्टाचार निवारण ऐन, २०५९ ले भने व्यापक अर्थमा भ्रष्टाचारलाई अथ्र्याउने प्रयत्न गरेको छ । यो ऐनअनुसार, कुनै राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको व्यक्तिले निम्न कुरामा आफूलाई वा अरुको निमित्त रिसवत् लिएमा वा लिन मञ्जुर गरेमा वा सोको निम्ति भनी कसैले रिसवत् दिएमा वा दुरुत्साहन गरेमा, ओहोदा वा सोसम्बन्धी काम गर्न भनी वा गरिदिएवापत कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट नगर्न वा नगराइदिएवापत कुनै प्रकारको दान दातव्य, उपहार, कोसेली, चन्दा स्वीकार गरेमा, कुनै किसिमको लाभ स्वीकार गरेमा त्यसलाई भ्रष्टाचार भनिन्छ ।
पत्रकारिताको मूल काम सुसूचित गर्ने, शिक्षित गर्ने, मनोरञ्जन प्रदान गर्ने र अभिप्रेरित गर्ने हो । तर आजको सन्दर्भमा पत्रकारिता धेरैजसो सुसूचित गर्ने दायित्वको सेरोफेरोमा केन्द्रित हुन पुगेको छ भन्दा अतिशयोक्ति हुँदैन । आजको विश्वमा आमव्यक्तिलाई सुसूचित गर्ने सन्दर्भमा त पत्रकारिताको महŒव छ नै सुशासन स्थापनाका सन्दर्भमा
पनि यसको भूमिका महत्वपूर्ण हुने विश्वास गरिन्छ । पारदर्शिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा मिडियाले महत्वपूर्ण भूमिका
निर्वाह गर्न सक्छ । आजको सन्दर्भमा पत्रकारिता पारदर्शिता प्रवद्र्धनको एक महत्वपूर्ण औजार हो भन्ने कुरामा शङ्का छैन र सुशासनको स्थापना पारदर्शिताको अवस्थाबाट मात्र सम्भव हुनसक्छ भन्ने कुरामा पनि विवाद छैन । विविध प्रकरणहरूमा मिडियाले सञ्चालन गरेको अभियानबाट पनि यसको पुष्टि हुन्छ । वास्तवमा अहिले स्मरण
गर्ने हो भने विगतमा भ्रष्टाचारका विभिन्न मुद्दा जनसमक्ष ल्याई सुशासन कायम गर्ने दिशामा मिडियाले निर्णायक भूमिका निर्वाह गरेको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय कारगर होलान्, तर व्यवशायिक पत्रकारिता सबैभन्दा प्रभावकारी
हुन सक्छ । खोजी पत्रकारितामार्फत् मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्दछ । विश्वका अन्य देशझैँ नेपालमा पनि पछिल्लो समयमा पत्रकारिता विस्तारै संस्थागत हुँदै गएको छ र दुखका साथ भन्नुपर्छ पत्रकारिताजन्य विकृति पनि विस्तारै वृद्धि हुँदैछ । यस्तै एक विकृति हो भ्रष्टाचार । भ्रष्टाचार र अनियमितताले प्रायः अपारदर्शिताको अवस्थामा मौलाउने अवसर प्राप्त गर्दछ । जहाँ अँध्यारो अर्थात् सार्वजनिक निकायका गतिविधिहरू जनताबाट लुक्ने अवस्थाको सिर्जना हुन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँदछ । पत्रकारिताको महत्व यहाँनिर बढद्छ । पत्रकारिताले लुकेका कुरालाई बाहिर ल्याउने, अँध्यारो चिरेर उज्यालोको निर्माण गर्ने अर्थात अनियमितता सार्वजनिक गरेर खवरदारी गर्ने परिकल्पना गरिन्छ । पत्रकारिताले यस माध्यमबाट पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ ।
पत्रकारिताले अफ्नो यही दायित्व निर्वहनमार्फत् अनेकौं खुलासा गरेको हाम्रै सन्दर्भ पनि साक्षी छ । माथि भ्रष्टाचारको अर्थ, परिभाषा र प्रकारको संक्षिप्त चर्चा गरिएको छ । माथि उल्लेख गरिएका ती सबै विषय पत्रकारिताका लागि ‘कभरेज’का दृष्टिले महत्वपूर्ण हुन् । उपर्युक्त सबै विषय समाचारका लागि ‘उत्कृष्ट खुराक’ हुन ।
यी सबै विषयमा रिपोर्टिङ्ग गर्न सकिन्छ तर आवश्यक छ उपयुक्त दृष्टि र कोण छनौटको । माथि उल्लेख गरिएका विषय यस्ता हुन् जसमा जनचासो अत्यधिक हुन्छ । विशेषतः आर्थिक र नैतिक पक्ष जोडिएको विषय समाचार सामग्रीका लागि निकै महŒवपूणर् हुन्छन् । समाचारमूल्यका दृष्टिले ‘जनचासो’ निकै महत्वपूर्ण हुन्छ र माथि उल्लेख गरिएका विषय यस्तै जनचासोसँग सम्बन्धित छन् ।
माथि उल्लेख गरियो, पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रण र यसका माध्यमबाट सुशासन कायम गर्ने सवालमा पत्रकारिताको अत्यन्त महŒवपूणर् भूमिका हुन्छ । पत्रकारिताले आमजनतालाई सुसूचित गरी चेतना जागृत गर्छ र सम्बन्धित पक्षबीच खवरदारी गर्ने कार्य गर्दछ । जनतालाई अनियमितताविरुद्ध आवाज वुलन्द गर्न अभिप्ररित
गर्छ भने दोषीलाई कठघरामा ल्याई कानुनी प्रक्रियाका लागि हौस्याउने गर्दछ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो । तर भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय औजारका रूपमा स्थापित मिडिया जब आफै भ्रष्टाचारको मतियार बनेको आरोप लाग्दछ, समस्या त्यसबेला उत्पन्न हुन्छ । यस्तो अवस्थामा मिडियाले खवरदारी र पहरेदारी गर्ने क्षमता त गुमाउँछ नै समग्रमा जनताको विश्वास गुमाउने अवस्थाको पनि सिर्जना हुन्छ । यो अवस्था लोकतन्त्रका लागि
त खतरनाक हो नै पारदर्शी शासन व्यवस्था र समाजको निर्माणका लागि पनि बाधक हो । विश्वसनीयता र साखको सङ्कट यस्ता अनेकौँ उदाहरण छन् जहाँ मिडिया स्वयं भ्रष्टाचारको मतियार बनी अनियमिततामा संलग्न रहेको आरोप लाग्ने गरेको छ । आरोपको यस्तो अवस्था एक सम्बद्ध पत्रकारका लागि त हानिकारक हो नै सम्बद्ध मिडियाका
लागि अझ बढी दूर्भाग्यपूणर् हो । यस्तो अवस्थाका कारण उत्पन्न परिस्थितिले सम्बद्ध मिडियाको विश्वसनियता र साख तल्लो स्तरसम्म गिर्न पुग्दछ । यसरी खस्केको साख कि त पुनः स्थापित गर्न नै सकिँदैन कि त पुरानै अवस्थामा पुर्याउन निकै कठिन हुन्छ ।
केही वर्षअघि यस्तै अवस्थाको समना गर्नुपर्यो भारतीय ख्यातिप्राप्त टेलिभिजन च्यानल जी टिभिले । यसका दुईजना पत्रकारले कोइलाको खरिद विक्रीका सम्ब्न्धमा सम्प्रेषण गरेको समाचार आरोपित हुन पुग्यो । च्यनलमा प्रशारित समाचार एक व्यापारिक घरानाको पक्ष र अर्को घरानाको विरुद्धमा लक्षित थियो । अनुसन्धान गर्दै जाँदा पछि त्यसमा पत्रकारले आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । यो घटनापछि उक्त च्यानलको विश्वसनियतामा निकै दिनसम्म समस्या अनुभव गरिएको थियो । यस्तै एक अन्य सन्दर्भमा अर्को चर्चित च्यानल आजतक पनि विवादमा मुछिएको थियो । यो विवादपछि त्यहाँ उपल्ला तहमा कार्यरत केही सञ्चारकर्मीले जिम्मेवारी त्याग गरेका थिए । भारतकै सन्दर्भमा हेर्ने हो भने त्यहाँ अहिले ‘पेड न्यूज’ को प्रवृत्ति हावी भएको अनुभव गरिएको छ । विश्लेषकहरूले यो प्रवृत्तिलाई व्यवसायिक पत्रकारिताको ‘भाइरस’
भनेर भयावह अवस्थाको सङ्केत गर्ने गरेका छन् । यस प्रवृत्तिअन्तर्गत, विज्ञापनमा प्रकाशित वा प्रसारित हुनुपर्ने सामग्रीहरू रकम लेनदेनका आधारमा समाचारका रूपमा प्रकाशित गर्नु वा कुनै पनि समाचार प्रकाशित वा प्रसारित गर्न सम्बन्धित पक्षले आर्थिक मूल्य चुकाउनुपर्ने हुन्छ । यो प्रवृत्तिले पत्रकारिताको आत्मा नै मर्ने अवस्था सिर्जना
हुन पुगेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनमा स्टिगं अपरेशनहरू मोलमोलाई र सौदावाजीका माध्यमका रूपमा प्रयोग हुन थालेको पनि पाइएको छ । छिमेकी मुलुक भारतको पत्रकारितामा देखिएको भ्रष्टाचारको नकारात्मक प्रवृत्तिजस्तै अवस्था नेपालमा पनि अनुभव गरिन थालेको छ जो दुखद छ । दुखको कुरा त के छ भने भ्रष्टाचारका घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यम मुछिने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यो क्रम राजधानीमा मात्र सीमित छैन राजधानीबाहिर मोफसलमा पनि यस्ता अनेकौँ घटना अस्तित्वमा छन् । पछिल्ला दिनमा प्रेस काउन्सिलमा यस्ता उजुरी पर्ने सङ्ख्यमा लगातार वृद्धि भइरहेको छ जो पत्रकारिताका निम्ति लाजमर्दो अवस्था हो । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकारहरू स्वयं भ्रष्टाचारको आरोपको आवरणमा लपेटिनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु अशोभनीयमात्र होइन दुखद छ । समाजमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रणमा सहयोगी सावित हुनुपर्ने मिडिया नै जब स्वयं यस्ता अवाञ्छित गतिविधिमा संलग्न भएको प्रमाणित हुन्छ भने त्यस समाजमा कस्तो अवस्थाको सिर्जना हुन्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।
