यतिबेला परिभाषा बदलिएको छ पत्रकारिताको । हामी कस्तो पत्रकारिता अभ्यास गरिरहेका छौं भनेर समाजको ऐनामा आफ्नो अनुहार हेर्ने हो भने स्पष्ट छैन परिभाषा । हुन त पत्रकारितालाई नै समाजको ऐना भन्ने गरिएको छ । तर समयले अब परिभाषा बदलिदिएको छ । समाजलाई चैं पत्रकारिताले ऐना मान्नुपर्ने अवस्था निर्माण भएको छ । समाज आमूल परिवर्तनको नयाँ पोशाकमा सजिएको छ । पत्रकारिताले भने यो परिवर्तनको आभाससम्म गर्न सकेको छैन । समाजको अडिटिङमा पत्रकारिता ऋणमा चुर्लुम्म डुबेको देखियो भने अनौठो नमाने हुने तथ्यहरू खडा भैसकेका छन् । पत्रकारिताका नयाँ माध्यमहरू थपिएका छन् । परम्परागत माध्यम अहिलेको मूलप्रवाहको पत्रकारिताले छोडिसकेको छ । नयाँ माध्यम र नयाँ पुस्ताको सहभागिता बढेसँगै परम्परागत पत्रकारिता अजायव घरको सजावट बनिसकेको छ । नयाँ राजमार्ग बनेपछि बटुवाले बिर्सेको पुरानो बाटो जस्तै बनेको छ परम्परागत पत्रकारिता अर्थात् नेपाली पत्रकारिताको इतिहास अर्थात् पत्रकारिताको प्राथमिक विद्यालय । जे भनेर सम्झिए
पनि हुन्छ त्यो गौरवशाली बिगत । तर त्यो पत्रकारिताले पेशाको आधारभूत धर्मको पालना सम्मान र रक्षा गरेको थियो भनेर आज बिर्सन मिल्दैन । देशमा राजनीतिका अनेक बदलाव भए । उतारचढावको तनावपूर्ण शृङ्खलामा राजनीति छालको गतिमा आयो गयो तर त्यतिबेलाको पत्रकारिताले पेशाको मूलभूत धर्म छोडेका थिएनन् । त्यो त्यतिबेलाको कुरा भयो । आजको कथा फरक छ । त्यही कारण परम्परागत पत्रकारिताको इतिहासलाई झलक्क भए पनि सम्झनु परेको हो । हो, आजको पत्रकारिताले आधुनिक माध्यमहरू पाएको छ । व्यवसायिक सञ्चार संस्थाहरू ठडिएका छन् ।
छापा, टेलिभिजन, रेडियो हुँदै अनलाइन न्यूजपोर्टलहरू पत्रकारिताका सशक्त माध्यम बनेर उदाएका छन् । अनलाइन पत्रकारिता अब नेपाली पत्रकारिताको मूल प्रवाहको नेतृत्व लिने दौडमा छ । अर्थतन्त्रको उन्नतिसँगै संस्थागत सञ्चार उद्योगहरूले आर्थिक समृध्दि पनि हासिल गरेका छन् । अर्थोपार्जनका विकल्पहरू उपलव्ध हुन थालेकाले पत्रकारहरूको सङ्ख्या पनि बढेको छ । पत्रकारिता रोजगारीको पेशा पनि हुनसक्छ भन्ने भरोसा र विश्वास देखिएपछि ठूलो सङ्ख्यामा पत्रकारहरू जन्मिएका हुन् । संस्था र पेशाकर्मीको सङ्ख्या गणना गर्दा दङ्ग पर्ने अवस्था बनेको छ । राजनीतिक परिवर्तनकै प्रतिफल हो यो भन्दा अन्यथा हुने छैन । तर यति धेरै उपलव्धि हासिल भैसक्दा पत्रकारिता पेशा आफैं भने कुन अवस्थामा बाँचिरहेको छ भन्नेतर्फ ज्यादै थोरै मानिसहरूको ध्यान परिभाषा बदलिएको पत्रकारिताः को कसको ऐना ?
गएको देखिन्छ । कतै यो होहल्लाको माध्यम मात्रै पो भैरहेको छ कि भनेर सोच्नुपर्ने परिस्थिति सिर्जना भएको देखिन्छ । किन पत्रकारिता यस्तो अवस्थामा रहनुपरेको छ त ?
स्वथ्य र निष्पक्ष पत्रकारितालाई जनमत निर्माणको भरपर्दो वैकल्पिक माध्यम पनि भन्ने गरिन्छ । यही आधारमा समाजले पत्याएको पनि हो । यो धर्म पालना गर्दासम्म पत्रकारिता भरोसाको पात्र थियो र रहन्छ पनि । तर बितेका केही वर्षहरू यता विश्वासको त्यो पूँजी गुमाउँदै गएको छ पत्रकारिताले । विश्वास गुमाउनुको पहिलो कारण हो पत्रकार आफैं पत्रकार रहन नसक्नु । व्यवसायिक धर्म पालनाबाट च्यूत हुनु । आफ्नो धरातलमा विश्वास नरहनु र दलीय छातामा ओत लाग्न जानु । दलमात्र होइन दलका गुट र अन्य अनेक भावनात्मक समूहमा भावुकतावश सङ्गठित हुनु । पत्रकारिता पेशा शिथिल हुनुका यी केही मूलभूत कारण हुन् । तीतो लागे पनि सत्य यही हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै पत्रकारिताले दलीय पक्षधरताको फेर समात्न थालेको हो । तैपनि उग्र दलीयकरण भने भएको थिएन । प्रजातन्त्रवादी र वामपन्थी बिचारप्रति झुकाव राख्ने दुई समूह वैचारिक रूपले सङ्गठित थिए । तैपनि यी दुई समूहले पत्रकारहरूको पेशागत छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई साझा थलोको रूपमा बलियो बनाउँदै लगेका थिए । यससँगै पत्रकारिता पेशा पनि वैचारिक रूपमा परिचित भए पनिन्यूनतम मान्यताको लक्ष्मणरेखाभित्रै रहेको थियो । समाज जसरी विचारले बिभाजित थियो त्यसको प्रत्यक्ष दर्पण पत्रकारिताको अनुहारमा पनि झल्किएको थियो । वास्तवमा यो अनौठो विषय थिएन, त्यस्तो मानिएको पनि थिएन ।
अहिलेको कथा व्यथा अर्कै छ । व्यवसायिक पत्रकारिताको धर्म पूरै नष्ट भयो । बाँकी अब केही पनि रहेन भनेर गालामा हात राखेर धर्धरी रोइहाल्नुपर्ने अवस्था पनि होइन । यो पेशालाई अन्यथा आक्षेप लाग्नबाट बचाएर जोगाएर कर्म गरिरहेका धेरै पत्रकारलाई बिर्सन मिल्दैन, सकिँदैन । तर पत्रकारिताको ठूलो जनसङ्ख्या यसरी नै धर्म पालना गरिरहेको छ त ? के हामी पत्रकारहरू यो दावी गर्न सक्छौं ? मूलधारका राजनीतिक दल, क्षेत्रीय दलहरू र अन्य जातजाति, समूदायको अलग अलग पहिचानमा हामी पत्रकारहरू सङ्गठित छैनौं भनेर भन्न सक्छौं त ? यो कसले गरेको विभाजन हो ? यसको नैतिक जिम्मेवारी कसले लिने ? पत्रकारिताको मूल धर्मबाट विचलित भएका
सबै पत्रकारको नाकमा झुण्डिएको सङ्गीन प्रश्न हो यो ! राजनीतिक दलहरू पत्रकारलाई पत्रकारका रूपमा र हैसियतमा चिन्न चाहँदैनन् । यसमा उनीहरूलाई घाटा छ ।
पत्रकारलाई कज्याउन गाह्रो छ तर कार्यकर्ता त कार्यकर्ता भैहाले । उनीहरूको कान निमोठ्न पनि पाइन्छ र उठबस गराउन पनि सकिन्छ । यसैले उनीहरूको नजरमा पत्रकार भनेका उनका कार्यकर्ता मात्र हुन् । उनीहरू जुन विचारको पूजा गर्छन् । आरति उतार्छन् र अनुष्ठान गर्छन् । उनका निकट पत्रकार पनि उस्तै हुन् उनीहरूको नजरमा । दलीय चिनारीमा भ्रातृ सङ्गठन बनाएर किन बसेका त पत्रकार ? अझ पार्टीको महाधिवेशनमा भागलिने मतदाताको हैसियतसमेत लिएर ! कुन दलका छैनन् पत्रकार भ्रातृ सङ्गठन ? यसरी वैचारिक रूपले दलमा एकाकार हुँदा पत्रकारको व्यक्तिगत, पारिवारिक र सामाजिक हैसियत त हृष्टपुष्ट हुँदो हो । तर पत्रकारिता पेशा त सुक्दै गएको छ नि ? हेपिँदै पनि त छ ! यसको नैतिक जवाफदेहिता र जिम्मेवारी कसैले लिनुनपर्ने ? यिनै चञ्चल चरित्रको परिणाम हो पत्रकारिताको परिभाषा बदलियो । समाजले नाक खुम्च्याउन थाल्यो । विश्वासको धरातल हल्लिन थालेको छ । पत्रकारिताभन्दा होहल्ला र चञ्चलताले बजार पिटेको छ । अदृश्य स्रोतहरू काँचका शिशामा लोभिन थालेका छन् । टेलिभिजनका सुकिला कार्यालय खुल्न थाले कर्पोरेट हैसियतमा । जागिर खुल्यो भाउ बढ्यो पत्रकारको । तर मूल्य किन घटिरहेको छ पत्रकारिता पेशाको । अहिलेको मुख्य प्रश्न हो यो ।
अस्थिरताको राजनीतिक सिरियल धानिरहेको नेपालमा फेरि पनि यो दोहोरिन थालेको छ । प्रतिनिधिसभा बिघटन भएको छ । भविष्य सर्वोच्च अदालतको संवैधानिक इजलाशको अधिनमा छ । यही अवसरमा पनि हामीले हाम्रो पेशाको पहिरन शृङ्गार र भावभङ्गीमा नजिकबाट नियाल्न सक्छौं । हाम्रो पेशाको तराजुको डण्डी कति
सोझो छ भनेर अवलोकन गर्ने यो एउटा सुवणर् अवसर हो । न्यायालयको विचाराधीन विषयमा कसरी चलिरहेको छ हाम्रो कलम भनेर बुध्द आँखाले हेर्ने हो भने पत्रकारहरूको पेशागत वस्त्र जोगाउन गाह्रो छ । स्वतन्त्र, तटस्थ र तुलनात्मक रूपमा निष्पक्ष उभिन नसक्दाको परिणाम हो यो भनेर स्वीकार्दा कसैलाई पाप लाग्ने छैन ।
नेपाल पत्रकार महासङ्घ द्यौरालीको पाती चढाइमाग्ने ढुङ्गो बन्नु हुँदैन । अभिभावकीय जिम्मेवारी भनेको सदस्यताकै वरिपरि अल्झिनुपर्छ भन्ने सोचाइ सही होइन । यो सङ्कीणर् सोचबाट उठेर पत्रकारिता पेशाको मूल्य, मान्यता र धर्म जोगाउन अनि पालना गराउन पनि महासङ्घको महŒवपूणर् दायित्व हुन्छ । यसमा उदासिन हुने छुट
छैन महासङ्घलाई । दलीय गुटबन्दीको सङ्क्रामक भाइरसले आक्रान्त प्रेस काउन्सिल नेपाललाई उसको धर्म सम्झाउने, पालना गर्न मद्दत गर्ने र प्रभावकारिता बिस्तार गर्ने काममा पनि महासङ्घको भूमिका रहन्छ । तर यति नै बेला भने यो परम दायित्व नै अभिभावकविहीन भएको देखिन्छ । अब यसरी हुँदैन । यहाँ चर्चा गरिएका प्रसङ्ग आजका पत्रकार साथीहरूको रुचिको विषय हुने छैन । यो सबैलाई पच्ने प्रसङ्ग पनि होइन । तर आफ्नो जीवनलाई पत्रकारिताको करिअरबाट अर्थपूणर् बनाउँछु भनेर चट्टानजस्तो
अठोट गरेर कलम समाएका युवाहरूले यस कुरालाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ भन्ने मेरो धारणा हो । महासङ्घका सभा सम्मेलन र अधिवेशनहरूको प्राथमिकतामा कहिल्यै पनि नपर्ने यस्ता व्यवसायिक मूल्यमान्यताको प्रसङ्गमा युवा पुस्ता संलग्न हुनुपर्छ । अनि मात्र पत्रकारिताको गुम्दै गएको साख बचाउन सकिन्छ । समाजले ऐना मानिआएको पेशा पत्रकारिता फेरि आफ्नो पुरानो पहिचानमा फर्किन सक्छ भन्ने अपेक्षाका साथ यी शब्दहरू लेखिएका हुन् । सर्वविदितै छः करेला तीतो हुन्छ तर स्वास्थ्यवध्र्दक हुन्छ !
