फिदिम । नेपाल पत्रकार महासंघ पाँचथरले ७ बुँदे ‘यासोक घोषणापत्र’ जारी गर्दै स्थानीय सञ्चार ऐन, पत्रकार सुरक्षा र पर्यटन विकासमा जोड दिएको छ । महासंघको घुम्ती बैठक तथा स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र पत्रकारहरूसँगको अन्तरक्रियापछि घोषणापत्र उक्त घोषणापत्र जारी गरिएको हो ।
शनिबार धार्मिक महत्व बोकेको कुम्मायक मन्दिरमा सम्पन्न कार्यसमितिको घुम्ती बैठक र अन्तरक्रिया कार्यक्रम शाखाका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
घोषणापत्रमा स्थानीय सञ्चार ऐन तथा सञ्चार नीति यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन कुम्मायक गाउँपालिका सहित पाँचथर जिल्लाका सबै स्थानीय तहलाई आह्वान गरिएको छ । साथै स्थानीय तथा ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक सञ्चार माध्यमको प्रवर्द्धन, स्पष्ट नीति निर्माण र पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।
पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षामा विशेष ध्यान दिनुका साथै सामाजिक सञ्जालमार्फत भइरहेका दुर्व्यवहार, दुरुत्साहन र समाचार लेखेकै आधारमा लाञ्छित गर्ने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरोकारवाला निकाय र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
घोषणापत्रमा कुम्मायक कुस्सायक लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकास र प्रचार प्रसारमार्फत पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारबाट स्पष्ट कार्यक्रम र प्रयाप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । यस्तै पाँचथरका सुक्खाग्रस्त क्षेत्रमा खानेपानी लगायत आधारभूत पूर्वाधारको अभाव समाधान गर्न विशेष प्याकेज ल्याई बढ्दो बसाइँसराइ रोक्न र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गरिएको छ ।
सूचना प्रविधि र आम सञ्चारको तीव्र विकाससँगै नागरिकलाई तथ्य बुझ्न कठिन भइरहेको अवस्थालाई ध्यानमा राख्दै मिडिया साक्षरताका कार्यक्रम राज्यका सबै निकायमार्फत सञ्चालन गर्न घोषणापत्रमा जोड दिइएको छ । साथै व्यावसायिक पत्रकारिता, क्षमता विकास, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन र लेखनवृत्तिको व्यवस्थाका लागि समेत माग गरिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी कविन्द्र शेर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगका लागि सबै तहका सरकारसमक्ष जोडदार माग गरिएको छ ।
अन्तरक्रिया कार्यक्रम कुम्मायक गाँउपालिकाका अध्यक्ष बमप्रसाद लावतीको प्रमूख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

